काठमाडौं– नेपालमा स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्न सके मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाले बताएका छन् ।
ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवर्द्धन, बजारीकरण र ब्रान्डिङ गर्ने उद्देश्यले आगामी पुस पहिलो साता आयोजना हुने ढाका वस्तु प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले यस्तो बताएका हुन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रर्दशनी र सम्मेलन आयोजना लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था उच्च रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले विभिन्न शीर्षकमा हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका वस्तु निर्यात भइरहेको जानकारी दिए । अहिले ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनि तिनको लेखाजोखा र तथ्यांक राख्ने काम हुन नसकेको उनले बताए । देशभर ५० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन जरुरी भएको अध्यक्ष गिरीले बताए ।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधीकरण सुरु भएको बताइन्छ । त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायका समस्या तथा समाधानका उपाय पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयास लगायत ढाका उद्योग व्यवसायसँग सम्बन्धित यावत विषयबारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तु समावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
पुस २, ३ र ४ गते बानेश्वर ब्यांकेटमा आयोजना गर्न तय गरिएको भेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटामा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादन राखिने आयोजकले जानकारी दिएको छ ।
महासंघले २०५८ सालमा ढाका तथा पस्मिनाजन्य वस्तुहरुको बृहत् प्रदर्शनी आयोजना गरेको पृष्ठभूमिमा यो दोस्रो ढाका कपडा प्रदर्शनी हुने बताइएको छ ।
विगतमा नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रुपमा नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरिएकोमा विविध कारणले गर्दा यसलाई व्यवस्थित ढंगले अघि बढाउन नसकिएकोमा पुस २ गते आयोजना गरिने भेलाबाट सो संघलाई पुनर्गठन समेत गरिने भएको छ ।
कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त पहलमा आयोजना गरिनेछ भने राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको सहयोग रहनेछ ।









