काठमाडौं– बंगालको खाडीको मध्यपश्चिमी भू–भागमा बनेको (जवाद) नामको समुद्री चक्रवातको असर नेपालसम्म पर्ने मौसमविद्हरुले जनाएका छन् । उक्त चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने अनुमान उनीहरुले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आज एक विशेष बुलेटिन निकालेर सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तरपूर्व सर्ने देखिएकाले उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्ने सम्भावना नरहे तापनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका पहाडी, उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आइतबारबाट पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना रहेको विभागका मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
सोमबारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको ।









