काठमाडौं– अब ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले ठाउँको ठाउँ जरिवाना तिर्न पाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकसँग कारवाहीस्थलमै जरिवाना लिने ‘पे फाइन अन द स्पोट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ सुरु गरेको हो ।
सचेतना कक्षा लिनुपर्ने उल्लंघनकर्ताले भने जरिवाना तत्काल तिर्न पाए पनि कागजात भने महाशाखामा गएर कक्षा लिएपछि मात्रै पाउनेछन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त बनाउँदै जाने क्रममा यो प्रणाली सुरु गरेको बताए । उनका अनुसार अब चिट काटेपछि जरिवाना तिर्न ट्राफिक कार्यालय जानु पर्दैन ।
उनले कारबाहीमा परेका सवारी चालक वा धनीको इन्ट्री डिजिटल्ली गरिने र केही उल्लंघनको हकमा तत्काल जरिवाना भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए । अहिलेसम्म ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई चिट काटेर सवारी चालक अनुमतिपत्र वा सवारी दर्ता किताब (ब्लु बुक) लैजान्छ । पछि सवारी चालक वा धनीले अनलाइनबाट वा बैंकमा जरिवाना रकम बुझाएर ट्राफिक कार्यालयमा गई कागजात लिनु पर्छ ।
हालसम्म प्रहरीले पाँचवटा मोबाइलमा उक्त एप डाउनलोड गरेको छ । ती पाँचवटा मोबाइलबाट कारबाहीको विवरण इन्ट्री हुन्छ । डिजिटल इन्ट्री फिल्डबाटै हुन्छ ।
कसैले तत्काल कागजात फिर्ता लिन चाहे जरिवाना भुक्तानी गरेर लिन सक्छ । त्यस्ता व्यक्तिले अनलाइन वा क्युआर कोडबाट रकम तिर्न सक्ने भट्टराईले बताए ।
महाशाखाले पहिलो चरणमा दरबारमार्ग, थापाथली, जावलाखेल, गौशाला र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको जनाएको छ । ट्राफिकको सचेतना कक्षा लिनुपर्ने मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन र रातो बत्ती उल्लंघन गर्ने सवारी चालकले भने जरिवाना भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउँदैनन् ।









