गोरखा– करिब ५० करोडको लागतमा यहाँ सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधासम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधासम्पन्न र स्तरीय होटल हो । होटलमा गोष्ठी तथा कार्यक्रमहरु आयोजना गर्न सुविधासम्पन्न चारवटा हलसमेत निर्माण गरिएको उनले बताए । ‘होटलभित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ,’ अध्यक्ष पौडेलले भने, ‘जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागिसमेत टेवा पुर्याउने उद्देश्यले हलको नामसमेत पर्यटकीयस्थलका नामबाट नामकरण गरिएको हो ।’

यस्तै, होटलमा सुविधासम्म ४६ स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । ‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स, ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘ग्राहककै सुविधाका लागि होटलको छैटौँ तलामा बच्चा र वयस्कका लागि सुविधासम्पन्न पौडी पोखरीसमेत निर्माण गरिएको छ ।’

होटलमा बस्न आउनेहरुले स्वादिष्ट तथा स्थानीय उत्पादन भएका अग्र्यानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाइ छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पुस महिनाभित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

होटलमा एकै पटकमा ६०० जनासम्म अटाउने क्षमताको हल पनि रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय