काठमाडौं– रुपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटल ड्रिम इन्टरनेसनल सञ्चालन भएको छ ।

मणिग्राममा चारतारे होटल ड्रिमल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल लगानीमा ४० कोठासहितको होटल सञ्चालन गरेका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटल हो ।

होटलमा ४ सुइट रुम र ३६ डिलक्स रुम छन् । होटलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले दाबी गरे । होटलमा सयजना क्षमताको दुई सभाहल, ग्राउन्ड फ्लोरमा फाइन डाइनिङ रेस्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा टेरेसमा रेस्टुरेन्ट रहेका छन् ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दिगो आधार पर्यटन भएकाले आत्मविश्वासका साथ बुटिक होटलमा लगानी गरिएको उनले बताए । होटलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनीलगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।

‘निजी क्षेत्रबाट होटल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, त्यसरी नै सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ,’ उनले भने भने । होटलमा ५० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

रुपन्देहीका होटलमा मात्रै झन्डै २५ अर्बको लगानी रहेको बताइएको छ । यहाँ साना–ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय