काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बिग्रेर कतारको दोहामा ग्राउन्डेड न्यारो बडी ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाउने भएको छ ।
२८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा निगमको उक्त जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा आन्तरिक खराबी पहिचान भएको थियो ।
इन्जिन फेर्नुर्ने प्राथमिक राय प्राप्त भएअनुरुप निगम व्यवस्थापनले जहाजलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिन लागेको हो । प्राविधिक प्रतिवेदनको आधारमा निगमको नियम बमोजिम इन्जिन भाडामा लिने प्रयोजनका निम्ति ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
इच्छुक कम्पनीबाट प्रस्ताव प्राप्त गरी उक्त प्रस्ताव मूल्यङ्कनको आधामारमा बोलपत्रबाट एमटियू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिइने प्रक्रिया अगाडि बढाइएको र उक्त समस्याग्रस्त इन्जिनको मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको उल्लेख गरेको छ । निगमको आन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् ।









