काठमाडौं– नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका युवा छोराछोरीलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिइयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत खनान गोडरले कोभिड–१९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफूहरुलाई खुसी लागेको बताए । नेपालका ७५भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए । नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् ।

नेपालमै सम्भावनाको ढोका खोलिरहेका छन् । भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । नेपालका युवालाई इजरायलले प्रशिक्षार्थीका रुपमा अवसर दिएर नेपालका किसानलाई ठूलो गुन लगाएको बताए । इजरायल सरकार र नेपालस्थित इजरायली राजदूतावास र राजदूत गोडरले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए ।

इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा ल्याउन यो कार्यक्रम महत्त्वपूर्ण रहेको उनले बताए । देशभरका युवा किसानलाई समेट्दै यो कार्यक्रमम अझै व्यापक बनाउनुपर्नेमा उनको जोड छ । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याक लगाएतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए ।

अहिले इजरायलबाट नेपाल फर्केका युवाले देशकै लागि नमुना कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए ।
इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक १ करोड बराबरको तरकारी बिक्री गरिरहेका छन् । धादिङकै नौबिसेका देवराज आचार्यले पनि उदाहरणीय तरकारी खेती गरिरहेका छन् ।

यसैगरी तनहुँको बाख्रा फार्म, रुपन्देहीको सृजना चौधरीले गरेको माछापालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्म लगायत यस्तै धेरै युवाको कृषि तथा पशुपालनको कर्म हेर्नलायक छन् । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरु व्यवसायी बनिसकेका छन । यसैगरी धेरै युवा इजरायलबाट सीप सिकेर नेपाल फर्केकाबाट प्रेरित भएर कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका छन् ।

यस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताएका राजदूत गोडरको अग्रसरतामा नेपालका साना किसानका छोराछोरीलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्य सुरु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय