काठमाडौं– पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित पर्यटन प्रवर्द्धन एवं अवलोकन भ्रमणका सहभागी यतिखेर पूर्वी नेपालमा पर्यटन प्रवर्द्धनसँगै क्षमता अभिवृद्धिमा जुटेका छन् ।

आइतबार पूर्वी नेपालको विराटनगर पुगेका व्यवसायी एवं सञ्चारकर्मीसहितको २५ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै पोखराको पर्यटन प्रवर्द्धन एवं इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायत विषयमा जानकारी गराएका छन् । एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल आन्तरिक र बाह्य पर्यटकका लागि आफू फर्कंदा लैजाने पर्यटकीय चिनारीले विशेष महत्त्व राख्ने बताउँछन् । इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई २०६१ सालमा स्थापित एगाले व्यवस्थित बनाउँदै लगेको पोखरेलको भनाइ छ ।

इम्ब्रोइडरी र गार्मेन्ट उद्योगले पर्यटकको इच्छाअनुसार कपडामा बुट्टा भर्नुका साथै स्वदेशी तानमा बुनेका कपडा सिलाइ गरी बिक्री वितरण गर्दै आएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । पोखरामा आउने पर्यटकलाई गुणस्तरीय सामान उपलब्ध गराउने र पोखराको विशिष्ट पहिचानसहितको कोसेली के बनाउन सकिन्छ भन्ने नै भ्रमणको उद्देश्य रहेको उनी बताउँछन् ।

कोरोनाबाट प्रभावित पर्यटनको पुनरुत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ । इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको भए पनि संस्थाको योगदानको उचित मूल्यांकन हुन नसकेको एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । ‘पर्यटकीय चिनारीका लागि यहाँको पहिचान झल्कने सामग्री तयार गरी बिक्री वितरण गर्दा विश्वमाझ नेपालको प्रचारप्रसार भएको छ,’ उनले भने, ‘इम्ब्रोइडरी र गार्मेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय