बन्दीपुर– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सव करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् ।
चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको संख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।
‘दिउँसो आउनेको संख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको संख्या भने कमै भयो,’ प्रधानले भने । उनका अनुसार बास बस्ने पर्यटकको संख्या दैनिक दुई हजार रहेको थियो ।
बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।
बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘द इन्ट्रो ब्यान्ड’को प्रस्तुति रहेको थियो ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडीखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।









