काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल आउने विदेशी पर्यटकलाई २०० अमेरिकी डलर बराबर नगद नै बोकेर आउन आग्रह गरेको छ ।
अन अराइभल भिसा पाउने विदेशीलाई विद्युतीय भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबर नेपालमा विनिमय हुने विदेशी मुद्रा ल्याउन सुझाएको हो ।
डेबिट वा क्रेडिट कार्डलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्न खोज्दा समस्या आइपरेको खण्डमा पर्यटकहरु लामो समय विमानस्थलमा रोकिनुपर्ने भएकाले नगदै ल्याउन सुझाएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय विदेशबाट आउने पर्यटक संख्या बढेको तर विमानस्थलभित्र एउटा मात्रै एटिएम मेसिन रहेकाले पर्यटकलाई नगद निकाल्न लाइन बस्नुपर्ने बाध्यता छ । सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमन कार्यालयले जनाएको छ ।
संसारका अधिकांश देशका नागरिकले नेपाल आउँदा विमानस्थलमै भिसा (अन अराइभल भिसा) पाउँछन् ।









