
काठमाडौं– चालक दलका ३ सदस्यसहित १९ जना बोकेर पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज बेपत्ता भएको छ ।
आइतबार बिहान १०ः१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने ९ एनएइटी ट्विनअटर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयले जनाएको छ । उक्त जहाज विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले पनि जहाज बेपत्ता भएको खबर आएपछि सोधखोज सुरु भएको जानकारी दिएका छन् ।
उक्त जहाज मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी बताइएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले पनि घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् ।
तारा एयरका अधिकारीहरुले जहाज अवतरण गर्ने समय भइसक्दा पनि सम्पर्कमा नआएको जानकारी दिएका छन् ।