भक्तपुर– जिल्लाको पर्यटन तथा होटल व्यवसायमा महिलाको लगानी बढ्न थालेको छ । महिलाले संयुक्त लगानीमा ठूला व्यवसाय सुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा शनिबारदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोडको संयुक्त लगानीमा ‘मिल मी’ रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा आएको छ । ‘मिल मी’को शनिबार पूर्वमन्त्री एवं नेकपाका नेता महेश बस्नेतले उद्घाटन गरेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्ष्य गरी भक्तपुर जिल्लामै पहिलो पटक एउटै छानामुनि स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मी’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्यले मध्यपुरथिमि नगरपालिका–४ को राधे राधे क्षेत्रमा बनेको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मी’ सञ्चालनमा ल्याइएको हो । प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मी’ले स्वदेशी तथा विदेशी नागकिरलाई विहान ७ देखि राति १० बजेसम्म सेवा दिने बताइन् ।

‘पारिवारिक शान्त वातावरणमा सफा, स्वस्थ्यकर, नेपाली, थकाली खाना, नेवारी तथा एसियाका विभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकार पस्कने गरी ‘मिल मी’ सञ्चालनमा ल्याएका छौं , यहाँ बालबालिका, ज्येष्ठ नागरिक र बिरामीका लागिसमेत खाजा खानाको व्यवस्था गरेका छौं, केही समय मै होम डेलिभरीको समेत व्यवस्था गर्दैछौं ।’

बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मी’मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र १२० जना ग्राहक अटाउने बताइएको छ । यसले २५ जनालाई रोजगारी दिएको छ । आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिइन् ।

सो अवसरमा पूर्वमन्त्री बस्नेतले केही वर्षअघिसम्म बैठक बस्नदेखि खाना खानसम्म राम्रो ठाउँ खोज्दै काठमाडौं जाने परम्पराको अब अन्त्य भएको र भक्तपुर विकाससँगै व्यवसायको केन्द्र बन्न थालेको बताए ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, व्यवसायी विज्ञान राईले व्यवसायको नौलो आयामहरु भक्तपुरमा थपिँदै जानु उपलब्धिमूलक भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय