काठमाडौं– नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ । उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको चेम्बरको विज्ञप्तिमा उल्लेख छ । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलालाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिम उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु सुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलालाई आग्रह गरे ।

महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘महिला दिदीबहिनीले उत्पादन गरेका वस्तु उत्पादनस्थलदेखि बजारीकरणसम्म चेम्बरले साथ दिन्छ । कृषिजन्य वस्तु प्रशोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ ।’

आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्नसमेत उल्लेख्य योगदान रहेको बताए । उनले अपांगता भएका महिलालाई उद्यमशीलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताए ।

चेम्बर उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्त्वपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलालाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन् ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तीमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तीकरण गर्न विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय