काठमाडौं– नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदर बढेको छ । आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।
यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बिमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ ।
यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने कोषको विज्ञप्तिमा उल्लेख छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारणसभा सम्पन्न भएपछि जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ ।
यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।









