काठमाडौं– सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धले प्रतिबन्धितमध्ये अधिकांश वस्तुको अवैध आयातको जोखिम बढाएको बताएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरी असार मसान्तसम्म कायम उक्त प्रतिबन्ध अब नथप्न पनि आग्रह गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १४ गतेको राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले जिप, कार र भ्यान जस्ता सवारीसाधन, २५० सिसीभन्दा माथिका मोटरसाइकल, ठूला आकारका रंगीन टेलिभिजन, निश्चित मूल्यभन्दा बढीका मोबाइल सेट, हिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, तयारी मदिरा, कुरकुरे, लेज जस्ता खानेकुरा, तास, बच्चाको खेलौना आयातमा प्रतिबन्ध लगाएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्ने उद्देश्यले ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्धले ती वस्तुको वैधानिक आयात रोके पनि अवैधानिक आयात रोक्न नसकेको संघको भनाइ छ । ‘तीन वर्षअघि नै आयातमा प्रतिबन्ध लागेको इनर्जी डिंक्स बजारमा सजिलै पाइनु प्रतिबन्धले अवैध आयात रोक्न नसकेको सबैभन्दा बलियो उदाहरण हो,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘विदेशी मदिरा आयातमा प्रतिबन्ध नलागेको बेला पनि गत माघमा राजधानीमा भारतबाट अवैध रुपमा आयातित विदेशी ब्रान्डका मदिरा ठूलो परिमाणमा प्रहरीले बरामद गरेको थियो । अहिले पनि ठूलो मात्रामा विदेशी ब्रान्डका मदिरा अवैध रुपमा नेपाल भित्रिरहेको गुनासो संघमा प्राप्त भइरहेका छन् । यी घटनाले दक्षिणतर्फ १८ सय किलोमिटरभन्दा बढी खुला सिमाना रहेको नेपालमा मोटरगाडी, मोटरसाइकल जस्ता दर्ता नगरी प्रयोग गर्न नपाइने बाहेकका वस्तुको आयातमा प्रतिबन्ध लगाए पनि अवैध रुपमा भित्रिइरहने पुष्टि गर्छन् ।’

अवैध आयात हुँदा सरकारले पाउनुपर्ने राजस्व पाउँदैन । उच्च दरमा राजस्व लाग्ने वस्तुको आयातमा प्रतिबन्ध लागेको अवस्था अवैध कारोबारीका लागि रातारात अकुत सम्पत्ति जोड्ने अभूतपूर्व मौका बनिरहेको हुन सक्नेतर्फ पनि संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

‘अवैध रुपमा आयात हुने वस्तुको गुणस्तर परीक्षण नहुने हुँदा तिनको उपभोगबाट जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम छ । आयात वैध, अवैध जुन रुपमा भए पनि भुक्तानी विदेशी मुद्रामै हुन्छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितिमा परेको चाप कम गर्ने उद्देश्यको आयात प्रतिबन्धले गैरकानुनी हुन्डी कारोबारलाई बढावा दिइरहेको हुन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यही असार मसान्तसम्मका लागि लगाइएको आयात प्रतिबन्ध थप नलम्ब्याउन यो संघ सम्बन्धित निकायहरुसँग हार्दिक अनुरोध गर्दछ ।’

त्यसैगरी, कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधानले बैंकलाई बाहेक सरकार, व्यवसायी, उपभोक्ता कसैलाई पनि फाइदा नभएको भन्दै संघले एलसीमा अनिवार्य नगद मार्जिन र टिटीलगायतका अन्य भुक्तानी माध्यमबाट भुक्तानी गर्नमा लगाइएको प्रतिबन्धले त्यस्ता माध्यमबाट भुक्तानी गरेबापत निर्यातकर्ताले दिने सहुलियतबाट पनि नेपाली आयातकर्ता वञ्चित भएको उल्लेख गरेको छ । उपभोक्तालाई महँगीको भारी बोकाउने र व्यवसायको लागत बढाउने नगद मार्जिनको व्यवस्था खारेज गरी साबिककै व्यवस्था कायम गर्न पनि संघले माग गरेको छ ।

भुक्तानीमा एलसी अनिवार्य गर्दा सानो सानो कारोबारको भुक्तानीमा समस्या र यसले गर्दा भारतबाट स–सानो परिमाणमा हुने आयातलाई अवैध बाटोतर्फ धकेलिरहेको संकेत मिलेकोले त्यसमा पनि ध्यान दिन संघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय