काठमाडौं– नेपाल आयल निगमले किन्ने पेट्रोलियम पदार्थको भाउ घटेको छ । तर घाटा खाएर पेट्रोल, डिजेल र मट्टीतेल बेचिरहेको निगमले बजार भाउ घटाउने सम्भावना अत्यन्तै न्यून छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमलाई इन्धन उपलब्ध गराउने इन्डियन आयल कर्पोरेसनले निगमलाई सस्तोमा दिन लागेको हो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १६ जुलाइमा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ । घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको निगम प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।
यसबाट निगमलाई राहत त हुने तर मूल्य घटाउन नसकिने उनको भनाइ छ । गत १ जुलाईमा प्राप्त मूल्यअनुसार निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५८२ रुपैयाँ घाटा छ । घटेर आएको नयाँ मूल्यपछि पनि मासिक घाटा ४ अर्ब ३२ करोडभन्दा माथि रहेको निगमको भनाइ छ ।









