धादिङ– उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुईजनालाई रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरुले गाउँकै एकजना पार्टीका नेताको आग्रहमा व्यापारीसँग कर उठाएर कर कार्यालयमा तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् ।
रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।
प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् ।









