काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारलाई सजिलो हुने गरी २०० अमेरिकी डलर बराबरको विदशी मुद्रा मनी चेन्जरले नै साटिदिन सक्ने सक्ने व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकबाट मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनी चेन्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्न सक्ने जनाएको छ ।
राष्ट्र बैंकले एकजनाले राहदानीबापत १५ सय डलरसम्म विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था गरेको छ । तर, श्रमस्वीकृति लिएर जानेहरुले भने २ सय डलरसम्म मात्रै विदेशी मुद्रा सटही गर्न पाउँछन् । हालसम्म यस्तो विदेशी मुद्रा सटही सुविधा वाणिज्य बैंकहरुले दिइरहेको थिए ।
केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब, विदेश भ्रमणमा जानेसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले २ सय डलरसम्मको सटही सुविधा मनी चेन्जरबाटै गर्न सक्नेछन् । यो व्यवस्थाले बिदाको दिन वा बैंक नखुले बेला विदेशी मुद्रा सटही गर्न सजिलो भएको छ ।









