काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेस गरेको छ । चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेस गरेको हो ।
पुँजी बजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझावहरु पेस गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ता निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टाछुट्टै सुझाव पेस गरिएको अध्यक्ष मल्लको भनाइ छ ।
धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहे बमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लाभान्वितबाट लिइने व्यवस्था गरी धितोपत्र औजारको विविधीकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ ।
चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीनबुँदे सुझाव दिएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए । चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० बुँदे सुझावसमेत पेस गरेको छ । अन्तर्राष्ट्रिय प्रचलनबमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ ।
धितोपत्र बजारका पूर्वाधारहरुको उचित व्यवस्था गरी अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरु जारी गर्न सक्ने व्यवस्था तत्काल गर्न समेत चेम्बरले धितोपत्र बोर्ड समक्ष आग्रह गरेको छ ।









