काठमाडौं– आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांक अनुसार सो वर्ष १९ खर्ब २० रुपैयाँभन्दा बढीको वस्तु विदेशबाट आयात भएको छ । सोही अवधिमा निर्यात २ खर्ब नाघेको छ ।
अघिल्लो वर्ष आयात २४.७२ र निर्यात ४१.७४ ले बढे पनि निर्यातको आकार सानो भएकाले व्यापार घाटामा निर्यातले खासै योगदान दिन नसकेको हो ।
अघिल्लो आर्थिक वर्षको व्यापार घाटा झन्डै मुलुकको एक वर्षको बजेट बराबर हो । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सरकारमा बस्नेहरु अर्थतन्त्रप्रति उदासिन भएका बेला सर्वसाधारण पनि आफैंले उब्जनी गर्नभन्दा किनेर खानेतिर उन्मुख हुँदा अर्थतन्त्र झन्झन् परनिर्भर हुँदै गएको छ ।
व्यापार घाटा अत्यधिक बढ्नुमा वैदेशिक रोजगारी र रेमिट्यान्सको ठूलो हात रहेको अध्ययनहरुले देखाएका छन् । वैदेशिक रोजगारी र रेमिट्यान्सकै कारण खेतीपाती गर्नुको सट्टा सहरी क्षेत्रमा बसाइँ सरेर बस्ने र किनेर खाने प्रवृत्ति सर्वसाधारणमा विकास भएको छ । जसले गर्दा खेतीयोग्य जमिन बाँझै रहने र खाद्यान्न, तरकारी एवं फलफूल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।
रेमिट्यान्सको पैसाले सर्वसाधारणको क्रयशक्ति बढ्दा विदेशी वस्तुको माग पनि बढेको छ । यसले पनि आयात बढाउन योगदान गरेको विज्ञहरु बताउँछन् ।









