काठमाडौं– तयारी मदिरा आयातमा प्रतिबन्ध लाग्दा पैठारीमा खर्च भएको भन्दा आठ गुणा बढी विदेशी मुद्रा गुमिरहेको सम्बद्ध व्यवसायीले बताएका छन् ।

नेपाल मदिरा पैठारीकर्ता संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलकुमार अग्रवालले विदेशबाट प्रतिलिटर १५ अमेरिकी डलर खर्च गरेर आयात गरेको मदिरा रेस्टुराँ, होटल र बारमा राखेर विदेशी पर्यटकलाई बेच्दा प्रतिलिटर १२० अमेरिकी डलर आर्जन हुने दाबी गरे । ‘मदिरा आयात गर्दा औसतमा प्रलिटर १५ अमेरिकी डलर बाहिरिन्छ । तर जब यो होटल, रेस्टुरेन्ट र बारमा बेचिन्छ तब अमेरिकी डलर १२० राजस्व आर्जन हुन्छ,’ अध्यक्ष अग्रवालले भने । यो कुरा बियर, वाइन जस्ता तयारी मदिरामा नभई ह्विस्की, भोट्का जस्ता मदिरा (जसलाई स्पिरिट पनि भनिन्छ)मा लागू हुने पनि उनले बताए ।

तयारी मदिरा आयात गर्दा वार्षिक लगभग १ करोड २० लाख अमेरिकी डलर (१ अर्ब ५० करोड रुपैयाँ) बाहिरिने तर त्यसबाट सरकारलाई ३ अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त हुने गरे पनि यसैमाथि प्रतिबन्ध लगाएर सरकारले अवैध पैठारीलाई प्रोत्साहन गरिरहेको उनले बताए । अध्यक्ष अग्रवालका अनुसार तयारी मदिरा आयातमा बाहिरिने रकम एक वर्षमा बाहिरिने कुल विदेशी मुद्राको ०.१० प्रतिशत मात्र हो ।

सरकारले गत वैशाख १३ देखि तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धले अवैध आयात बढाउने संघका महासचिव गौरव शारडा बताउँछन् । आयातमा प्रतिबन्धले बजारमा वैध बाटोबाट आउने विदेशी मदिराको आपूर्ति घटेसँगै अन्तर्राष्ट्रिय ब्रान्डमा नक्कली सामान बजारमा देखिन थालिसकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालमा उच्च भन्सार र अन्तःशुल्कका कारण यहाँको अधिकतम खुद्रा मूल्य र भारतीय बजारको अधिकतम खुद्रा मूल्यमा ठूलो अन्तर भएकोले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारिबाट लोकप्रिय ब्रान्डका मदिरा ठूलो परिमाणमा तस्करी हुन थालेको संघको भनाइ छ ।

मदिरा आयातमा प्रतिबन्ध लाग्दा होटल, रेस्टुरेन्ट र बारको आयआर्जन घट्ने र उनीहरु कर्मचारी कटौती गर्न बाध्य हुने हुँदा यसले रोजगारीमा समेत नकारात्मक असर पार्ने व्यवसायीले दाबी गरे ।

विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउँदा नेपाल आएका विदेशी पर्यटकलाई बढीभन्दा बढी खर्च गराउने सरकारको योजनामा पनि प्रतिकूल असर पर्ने व्यवसायी बताउँछन् ।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पर्यटकलाई विदेशी मदिरा बेचेर फाइदा लिनुपर्नेमा आयातमा प्रतिबन्ध लगाएर तस्करीलाई बढावा दिएको आरोप लगाए ।

‘सरकारले आयातमा प्रतिबन्ध लगाएपछि लुकिछिपी आउँछ, राजस्व गुम्छ र जनस्वास्थ्यमा पनि नकारात्मक असर पर्छ,’ उनले भने, ‘मदिरामा निर्भर व्यवसायमा आश्रितको रोजगारी गुम्छ ।’

नेपाल वितरक संघका अधयक्ष राजेन्द्र सिंखडा मदिरा आयातमा लागेको प्रतिबन्धले रमाइलोको घुम्न आउने पर्यटकले खर्च गर्ने बाटो नै रोकिदिएको बताउँछन् । ‘सरकार विरोधाभाषपूर्ण कुरा गर्छ, एकातिर विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढाउने भन्छ, अर्कोतिर खर्च गर्ने बाटै थुनिदिन्छ,’ उनले भने, ‘मदिरामा प्रतिबन्ध लगाएपछि पर्यटकले केमा खर्च गर्ने त ?’

मदिरा आयातमा प्रतिबन्ध लाग्दा आफूहरुले गाडी, गोदाम जस्ता पूर्वाधारमा गरेको ठूलो लगानी खेर जाने स्थिति आएको भन्दै उनले चाँडै प्रतिबन्ध खारेज गर्न आग्रह गरे । आयातित मदिरा बिक्रीका लागि भनेर फर्म दर्ता गरेका व्यवसायी अहिले अप्ठेरोमा परेको र बजारमा नक्कली सामान आएको उनले बताए ।

मदिरा पैठारीकर्ता संघका सदस्य अमित शर्माले प्रतिबन्धले अन्तर्राष्ट्रिय स्तरको मदिरा खपत हुने पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने र चोरी पैठारी बढाउने बताए । सीमा क्षेत्रबाट २–४ बोटलका दरले ल्याउनेले पनि ठूलो परिमाणमा मदिरा प्रवेश गराउने उनले बताए ।

मदिरा पैठारीकर्ता संघकै महासचिव गौरव शारडाले स्पिरिटमा प्रतिलिटर साढे ३ हजार रुपैयाँ कर लाग्ने हुँदा चोरी पैठारी गर्नेले व्यापक नाफा कमाउने हुँदा अवैध कारोबार बढ्ने जोखिम औंल्याए । तयारी मदिरा आयातका विषयमा गलत तथ्यांक आइरहेको भन्दै उनले यसमा वार्षिक जम्मा १ करोड २० लाख अमेरिकी डलर मात्र बाहिरिइरहेको दाबी गरे । नेपालमा मदिरा उद्योगको कच्चा पदार्थ आयातको तथ्यांकसमेत जोडेर गलत प्रचार भइरहेको उनको भनाइ छ ।

नेपाल सरकारले निजी प्रयोजनका कार, तयारी मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ सम्मका लागि थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय