काठमाडौं– टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलोपटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । साउन ६, ७ र ८ मा आयोजना गरिएको तीनदिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ । तालिममा उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि सुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ म सुरु भएको हो ।
कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अंकुर यादवज्युले भने, ‘एक कुशल नेताले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणाको साथ काम गर्नुपर्छ र यस वर्ष केही नयाँँ सिक्दै आफूमा सकारात्मक परिवर्तन ल्याउँदै र आफूलाई सुधार्दै अघि बढ्नु पर्छ ।’
सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्वडिस्ट्रिक डाइरेक्टर डिटिएम रन्जित आचार्यले नेतृत्ववर्गलाई सम्बोधन गर्दै भने, ‘नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफू भन्दा आजको आफू सुधारिनु हो । र तपाईंको प्रतिस्पर्धा अरु कोही नभएर तपाईंको विगत हो । यसमा सफल हुनको लागि तपाईंमा जिम्मेवारीबोध हुनुपर्यो, चनाखो हुनुपर्यो, सधैं केही न केही गरी रहनु पर्यो र आफूले जे गरेको छ त्यसमा रमाउन सक्नु पर्यो ।
तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सीप व्यक्तिगत र व्यावसायिक जीवनमा पनि लागू गर्न सके धेरै प्रगति गर्न सकिने बताए ।
डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डाइरेक्टर तथा कार्यक्रमका अध्यक्ष डिटिएम सुमन शाक्यले ज्युले कोभिडपछिको नौलो समयलाई इंगित गर्दै आफ्नो स्वागत मन्तव्यमा भने, ‘हामी टोस्टमास्टर्सले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीको सामना गर्न सिक्नुपर्छ र यसको मन्त्र भनेको राइज रिबिल्ड र रिभाइभ हो । साथै, डिस्ट्रिक्ट ४१ का डिटिएम क्लब ग्रोथ डाइरेक्टर मून प्रधान र उनको समूहले तालिम कार्यक्रमको नेतृत्व गरेको थियो ।
तालिम कार्यक्रम अन्तरक्रियात्मक हुनुको साथै डिस्ट्रिक्ट ४१ का नवनिर्वाचित डिस्ट्रिक्ट अफिसरका लागि अत्यन्तै जानकारीमूलक रहेको सहभागीले बताए । भारतबाट आएका ६२ जना सहभागीले पनि नेपालीको आतिथ्यको खुलेर प्रशंसा गरेका थिए ।









