हेटौंडा– हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कम्पनीको २०७५ को निर्णयअनुसारको बढेको जग्गा भाडा भुक्तानी गर्न उद्योगीलाई पत्र काटेको छ ।
कार्यालयले गत २०७५ मंसिर ५ गतेको निर्णयअनुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि उद्योग, प्रतिष्ठानलाई पत्र काटेको हो । गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापान लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानी गर्न पत्र काटेपछि कार्यालयले उद्योग, प्रतिष्ठानलाई दबाब दिएको हो ।
हेटौंडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा १३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको छ । उक्त पत्रअनुसार, हेटौंडा औद्योगिक क्षेत्रको प्रतिरोपनी १९ हजार ६ सय ९१ को दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका १४९ उद्योगलाई पत्र र बिल पठाएको छ । कार्यालयले प्रमुख राजेन्द्र कँडेलले दिएको जानकारीअनुसार ती उद्योगलाई १४ करोडभन्दा बढी रकमको बिल पठाइएको छ ।
लिमिटेडको निर्णय र कार्यालयले पठाएको बिलअनुसार हेटौंडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको १ उद्योगको ९ लाख ५ हजार भाडा भुक्तानी गर्न बाँकी देखिन्छ । उक्त निर्णयअनुसार उद्योगले सो भाडा यसै महिना तिर्नुपर्ने हुन्छ ।
त्यस्तै, कार्यालयले जग्गाको क्षेत्रफलको आधारमा जग्गाको भाडा दर निर्धारण गर्दै आएको छ भने हरेक वर्ष ५ प्रतिशतका दरले जग्गा भाडा दर वृद्धि हुने उद्योग प्रतिष्ठान र कार्यालयबीच सहमति भएअनुसार हालसम्म उनीहरुले भाडा तिर्दै आएका थिए । उक्त सहमतिअनुसार, उद्योगले गत असारसम्ममा प्रतिरोपनी ८ हजार ३ सय ३१ रुपैयाँका दरले वार्षिक रुपमा जग्गा भाडा तिर्दै आएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध जनाएको छ । संघका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकोप्रति उद्योगी व्यवसायी एवं संघको असहमति रहेको जानकारी गराएका छन् ।
विभिन्न उद्योग संघ र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको प्याकुरेलले बताए । २०७५ सालमा भएको निर्णय कार्यान्वयन नगरेर हाल सो निर्णय तत्कालीन समयदेखि कार्यान्वयन गर्नु अन्यायपूर्ण हुने उहाँको भनाइ छ । संघले भाडा वृद्धि आवश्यक नभएको तथ्यांकसहित सुझावसमेत पेश गरेको छ । उनले कुनै पनि हालतमा उद्योगले सो भाडा नतिर्ने भन्दै निर्णय सच्याउन माग गरेका छन् ।
हेटौंडा औद्योगिक क्षेत्रमा हाल १४९ उद्योगमध्ये १३३ सञ्चालनमा छन् । पाँच पूर्णरुपमा बन्द अवस्थामा छन् । ११ उद्योग निर्माणाधीन अवस्थामा छन् ।









