स्याङ्जा– जिल्लामा गत आर्थिक वर्ष २०७८–७९ मा ८९४ वटा नयाँ उद्योग थपिएका छन् । ती उद्योगमा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग छन् ।

तुलनात्मक रुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय) तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए ।

उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको छ । आव २०७७–७८ को तुलनामा आव २०७८–७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ ।आव २०७७–७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए ।

आव २०७७–७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आवमा ७९ वटा उद्योग र ११० वटा वाणिज्य (पसल, व्यवसाय) को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा ८ हजार ९१२ उद्योग दर्ता भएकामा ५ हजार ८८३ वाणिज्य (पसल, व्यवसाय) दर्ता भई सञ्चालनमा रहेका छन् ।

कार्यालयले गत आव २०७८–७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट ७० लाख ४ हजार ३४५ राजस्व संकलन गरेको कार्यालय प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय