काठमाडौं– असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः नियुक्त भएका छन् ।
शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि पद छाड्नु परेको थियो ।
उक्त आरोपको छानविन गर्न संसदीय समिति गठन भएपछि उनले असार २२ गते राजीनामा दिएका थिए । संसदीय छानविन समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको प्रतिवेदन गत शुक्रबार सभामुखलाई बुझाएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार शर्माको शपथ ग्रहण आइतबार ५ बजेपछि हुनेछ ।









