काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स चितवनको सौराहमा सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार कन्फ्रेनस साउन १३ देखि १५ सम्म चलेको थियो । अ बाउन्स ब्याक इयर ७९–८० नाराका साथ सम्मेलन आयोजना गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
कम्पनी सञ्चालक बिमलप्रसाद ढकालले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलन उद्घाटन गरेका थिए । सो क्रममा उनले कर्मचारीलाई आम नागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालु वर्षको व्यापार लक्ष्य पूरा गर्न सुरुबाटै दत्तचित्त भई काम गर्न आह्वान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०७९–८० को सेल्स रणनीतिबारे सम्मलेनमा जानकारी गराए ।
हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरुलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।
सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीलाई प्रमाणपत्र र आर्थिक वर्ष २०७८–७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।









