काठमाडौं– नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बेच्ने इन्डियन आयल कर्पोरेसन (आइओसी) फेरि पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइओसीले अगस्ट १ मा पठाएको मूल्य सूचीअनुसार उसले पेट्रोलको भाउ प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल मट्टीतेलको भाउ प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको छ ।

यसअघि जुलाई १५ मा पनि आइओसीले पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल, मट्टीतेलको प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाका दरले मूल्य घटाएको थियो ।
भारतबाट मूल्य घटेर आउँदासमेत बजार मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेल मट्टीतेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेको जनाएको थियो ।

अब भने साबिकको मूल्य हेरफेर नगर्दा पेट्रोलमा निगमलाई प्रतिलिटर २ रुपैयाँ ६१ पैसा नाफा हुनेछ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासमा भने निगमलाई अझै घाटा हुनेछ । निगमले थप घाटा नबेहोर्ने निर्णय लिएको खण्डमा अझै पनि उपभोक्ताका लागि घटेर आएको मूल्य कागलाई बेल पाके जस्तै हुनेछ ।

रुस–युक्रेन युद्धले उचालेको अन्तर्राष्ट्रिय बजारको कच्चा तेल मूल्य पछिल्लो समय घट्न थालेको छ । छिमेकी भारत, चीन लगायत मुलुकले रुसबाट सस्तोमा कच्चा तेल किनिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय