काठमाडौं– सन् २०२२ को सात महिनामा झन्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि जुलाईसम्म हवाईमार्ग भएर २ लाख ८५ हजार ३ सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार ८ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार २ सय ९९, बंगलादेशबाट १ हजार ८ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट १ हजार ५ सय ९३ पर्यटक नेपाल आएका छन् ।

समग्रमा एसिया र अन्य मुलुकबाट ४ हजार १ सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट ९ हजार १ सय २१, मध्यपूर्वलगायत मुलुकबाट ३ हजार ७ सय ३५ र अमेरिकाबाट ५ हजार २ सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए
बोर्डका अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार ४६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले छिमेकी मुलुक भारत, बंगलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोत बजारमा प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफ सिजन रहे पनि आगमन सकारात्मक रूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको संकेत गरेको बताए ।

उनले पर्यटक बढोत्तरीमा भारत, बंगलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय