बेइजिङ (एएफपी)– चीनमा निर्मित सी९१९ जेटले बुधबार आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ । गैरसैनिक उड्डयन क्षेत्रमा रहेको बोइङ र एयरबसको दशकौं पुरानो एकाधिकारलाई चुनौती दिने बेइजिङको लक्ष्यका लागि यो एक प्रतीकात्मक कदम हो ।

उक्त न्यारो–बडी जेटलाई बोइङको ७३७ वा एयरबसको ए३२० को सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ, यद्यपि यो विमानले अमेरिकी वा युरोपेली नियामकहरूबाट अनुमति पाउन बाँकी नै छ ।

बेइजिङले स्वदेशमै निर्मित यस विमानले विदेशी प्रविधिमा चीनको निर्भरता घटाउने र विश्वव्यापी बजारमा आफ्नो पकड बनाउन मद्दत गर्ने अपेक्षा गरेको छ ।

चीनको सरकारी स्वामित्वमा रहेको कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) द्वारा निर्मित र वायुसेवा कम्पनी एयर चाइनाद्वारा सञ्चालित सी९१९ जेटले बुधबार दिउँसो स्थानीय समय ३ः१७ बजे बेइजिङबाट उडान भरेको थियो ।

सार्वजनिक उडान तथ्यांक अनुसार यो विमान स्थानीय समय दिउँसो ४ः५८ बजे मंगोलियाको राजधानी उलानबाटारमा अवतरण भएको थियो ।

बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा उडानका लागि चेक–इन गर्ने क्रममा, यात्री हु युआनले एएफपीसँग कुरा गर्दै स्वदेशमै निर्मित विमानमा अन्तर्राष्ट्रिय उडान भर्न पाउँदा ‘गर्वको अनुभूति’ भएको बताए ।

‘हाम्रा स्वदेशी विमानहरू यात्रुको आराम र समग्र अनुभवका हिसाबले निरन्तर सुधारिँदै जाओस्, यहाँसम्म कि बोइङ र एयरबसलाई पनि माथ गरोस् मेरो अपेक्षा छ,’ ४० वर्षीय हुले भने ।

सी९१९ चीनमा बनेको भए पनि यसका पार्टपुर्जाहरू अमेरिका लगायतका विभिन्न देशहरूबाट ल्याइन्छ ।

एयर चाइनाको यो मार्गले बेइजिङ र उलानबाटारलाई दैनिक एक राउन्ड–ट्रिप (दोहोरो) उडानमार्फत जोड्ने सिन्ह्वा समाचार संस्थाले जुलाईमा बताएको थियो । सी९१९ ले मे २०२३ मा चीनको वित्तीय केन्द्र सांघाईबाट बेइजिङसम्म आफ्नो पहिलो व्यावसायिक उडान पूरा गरेको थियो ।

त्यसयता यो विमान नियमित रूपमा आन्तरिक व्यावसायिक उडानका साथै मुख्यभूमि चीन र हङकङबीचको उडानका लागि प्रयोग हुँदै आएको छ ।

कोम्याकले सी९१९ विमानलाई सन् २०२४ र २०२६ को सिंगापुर एयर सो तथा सन् २०२५ को दुबई एयर सोमा प्रदर्शनका लागि पनि पठाएको थियो ।
कोम्याक ७८ देखि ९७ यात्रु क्षमताका आफ्ना साना सी९०९ जेटहरूमार्फत विदेशी बजारमा अघि नै प्रवेश गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय