काठमाडौं– गृह मन्त्रालयले मिटरब्याजमा पैसा दिएर गरीबको उठिबास लगाउनेविरुद्ध उजुरी दिन पीडितलाई आग्रह गरेको छ । सरकारले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पीडितलाई आग्रह गरेको हो ।

कार्यदलका संयोजक डा. भिष्मकुमार भुसालले हस्ताक्षर गरेको सूचनामा मिटरब्याज पीडितलाई तथ्य प्रमाणसहित अगामी भदौ ५ गतेसम्म उजुरी दिन गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव भुसालको संयोजकत्वमा गठित कार्यदलले एक घण्टाभित्रै काम सुरु गरेको पनि सूचनामा उल्लेख छ ।

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएका मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको भुसालले जनाएका छन् ।

उनले मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृंखलाले सयौं परिवारको बिचल्ली भएका समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यस्ता आर्थिक अपराधीलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने प्रक्रिया चलको बताएका छन् । अझै पनि धेरै पीडितले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको भन्दै उनीहरुलाई एक साताभित्र उजुरी गर्न आग्रह गरिएको छ ।

हाल काठमाडौंको माइतीघर मण्डलामा नवलपरासीबाट आएका मिटरब्याज पीडितले धर्ना दिएका थिए । नवलपरासीमा मात्र नभई तराईका अधिकांश जिल्लाबाट समेत गुनासो प्राप्त भएको र देशैभरी मिटरब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी माग गरिएको सूचनामा उल्लेख छ ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय