काठमाडौं– पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितिमा नेपाल सरकार, लगानी बोर्ड र भारतको सरकारी स्वामित्वको कम्पनी एनएचपीसी लिमिटेडबीच बुधबार साँझ यी दुई जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री देउवाले गत अप्रिलमा गरेको भारत भ्रमणका अवसरमा नेपालको जलविद्युत् परियोजनाको विकासका लागि सहकार्य गर्ने र भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणको बेला पश्चिम सेती जस्ता महत्त्वपूर्ण जलविद्युत् परियोजना विकासका लागि सक्षम भारतीय कम्पनीलाई आमन्त्राा गरिएको थियो । सोही आमन्त्रण अनुसार भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनएचपीसी लिमिटेडले वार्ताद्वारा परियोजना विकास गर्ने स्वीकृतिका लागि अनुरोध गरेको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ जेठ ३१ गतेको बैठकले वार्ताद्वारा परियोजना विकास गर्ने सम्बन्धमा एनएचपीसी लिमिटेडलाई परियोजना अध्ययनका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

परियोजना विकासका लागि एनएचपीसीसँग वार्ता गरी तयार गरिएको समझदारीपत्रको मस्यौदा लगानी बोर्डको ५२औं बैठकले स्वीकृत गरी उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको थियो ।

एनएचपीसीले समझदारीपत्रका व्यवस्थाअनुसार परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवं वातावरणीय, ऊर्जा बजारको सुनिश्चिता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना दस्तावेज तयार गरी २ वर्षभित्र लगानी बोर्ड समक्ष पेस गर्नुपर्नेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री देउवाले लगानी बोर्ढ र एनएचपीसीबीच हस्ताक्षर भएको समझदारीपत्र नेपाल र भारतबीचको उर्जा सहकार्यमा महत्त्वपूर्ण कोशेढुंगा भएको बताए । यी उर्जा परियोजनाको कार्यान्वयनले नेपालमा उत्पादित विद्युत् निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिने पनि उनले बताए ।

परियोजना विकाससँगै विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । यी परियोजना विकासमार्फत पश्चिम सेती करिडोरमा सडक, प्रसारण लाइन लगायतका पूर्वाधार विकासले गति लिने विश्वास उनले व्यक्त गरे ।

एनएचपीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले समझदारीसँगै एनएचपीसीको नेपालसँग सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको बताए । उक्त परियोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय