काठमाडौं– सरकारले गत वैशाख १३ देखि आयातमा प्रतिबन्ध लगाएकामध्ये ६ वस्तुको आयात खोलेको छ । बाँकी चार वस्तु आयातमा भने आगामी असोज २८ सम्म प्रतिबन्ध थप गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शबबाहन बाहेकका सवारीसाधन, ३०० अमेरिकी डलरभन्दा माथि मूल्यका स्मार्टफोन, तयारी मदिरा र १५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकलमा मात्र प्रतिबन्ध काम रहेको जानकारी गराएको छ ।
खेल्ने तास, कुरमुरे लेज जस्ता खानेकुरा, सबै किसिमका खेलौना, हिरा, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन तथा चुरोट र सुर्तीजन्य पदार्थ भने आयात प्रतिबन्ध लागेको वस्तुको सूचीबाट हटेको छ ।
सरकारले विदशी मुद्रा सञ्चिति कम हुँदै गएपछि बिलासी वर्गमा पर्ने वस्तुको आयातमा गत वैशाख १३ गतेबाट प्रतिबन्ध लगाएको थियो । सरकराले सुरुमा असार मसान्तसम्मका लागि लगाएको प्रतिबन्ध पछि भदौ १४ गतेसम्म लम्ब्याएको थियो । मन्त्रालयले भदौ १४ मा प्रतिबन्धको म्याद सकिनुभन्दा एक दिनअघि ४ वस्तुको आयातमा असोज २८ सम्म प्रतिबन्ध लगाउँदै बाँकी ६ वस्तुको आयात खुला गरेको हो ।









