काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि भदौ १९ गते आइतबारदेखि २४ गते शुक्रबारसम्म केएस डिजिटल विक सार्वजनिक गरेको छ ।
नगद छोडौं, डिजिटल रोजौं कार्यक्रमअन्तर्गत केएस डिजिटल विकमा बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ वा १५ प्रतिशत बोनसबापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्ने बताइएको छ । साथै बैंकका ग्राहकले डिजिटल कारोबारमा आकर्षक छुट समेत प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आइएमई पे र खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी सय रुपैयाँसम्मको क्यास ब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बताइएको छ । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनरहरु फोन पे, एफवान सफ्ट, एनसिएचएल, भिसा, आइएमई पे र खल्ती डिजिटल वालेटसँगको साझेदारीमा ल्याएको जनाएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । यो योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट इयरलाई समेत सहयोग पुग्ने बैंकको भनाइ छ ।









