काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत यात्रु ठगेको भन्दै १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनी मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको बताउँछन् ।

‘ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दर्ता गराएका छौं,’ उनी भन्छन् । कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने दुई तथा पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एक ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनी बताउँछन् ।

यस्तै पाँच वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५–७६ देखि चालू आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारले स्ट्यान्डर नाप र तौल ऐन २०२५ को पाँचौं संशोधन अगाडि बढाएको छ । प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको बताउँछन् ।

उनका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७–७८ मा पाँच हजार सात सय ३६, आव २०७८–७९ मा १० हजार २ सय ९५ र चालु आवको भदौ १८ गतेसम्म १ हजार ९ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसूरमा कारबाही गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय