काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी) लाई नेपालको निजीक्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।
एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभासासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने, ‘निजीक्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’
उनले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजीक्षेत्रको योगदान महत्त्वपूर्ण हुने पनि बताए ।
शर्माले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरे ।
उनले नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगायतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग अझै बढाउन अनुरोध गरे ।
कोभिड महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगका लागि उनले धन्यवाद ज्ञापन गरे ।
लाभासाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैं हातेमालो गर्ने बताए । शर्माको सल्लाहअनुसार आफू नेपाल सरकार र निजीक्षेत्रलाई सहयोग गर्न तयार रहेको उनको भनाइ छ । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा यस विषयमा अझ बढी छलफल गर्ने बताए ।









