काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी र नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलका छोरा नै वित्तीय संस्थाबाट लिएको ऋण नतिरेर डिफल्टरमा परेका छन् ।
उनीहरुले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट लिएको ऋणको साँवाब्याज नबुझाएका हुन् । निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी सृष्टि राणा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलकी बुहारी हुन् ।
सृष्टि र तिलकका छोरा विनय रावलले लालीगुराँसबाट व्यावसायिक प्रयोजनका लागि कर्जा लिएका थिए । संस्थाले कर्जाको साँवाब्याज बुझाउन पटकपटक लिखित र मौखिक आग्रह गर्दा पनि नटेरेपछि शुक्रबार उनीहरुका नाममा २१ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
लालिगुराँसका अनुसार सृष्टिले कर्जा लिएकी हुन् । उनले कर्जा लिँदा श्रीमान विनयको नामको घरजग्गा बन्धकी राखेकी हुन् ।
अबको २१ दिनभित्र संस्थामा सम्पर्क राखी लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुरसमेत चुक्ता नगरे संस्थाको ऋण लगानी तथा असुलीसम्बन्धी नियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटो सहितको विवरण खुलाई ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धक पारित गरी दिएको धितो घरजग्गा लिलाम बिक्री गरी कर्जा असुल प्रक्रिया अघि बढाउने संस्थाले जनाएको छ ।









