काठमाडौं– छिमेकी भारतले धान र चामल निर्यातमा लाग्ने करको दर बढाएको छ । कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीले सेतो र खैरो धान र चामलमा २० प्रतिशत कर वृद्धि गरेर कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८–७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको अभिलेख छ । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । भारतको कर बढाउने निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ ।
कनिका निर्यातमा लगाएको प्रतिबन्धले नेपालका मदिरा उत्पादक उद्योग र दाना उत्पादनमा असर व्यवसायी बताउँछन् ।
आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले बजार मूल्य नियन्त्रण गर्न भारतले प्रतिबन्धको कदम चालेको बुझिएको छ ।
भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा सीमित भएको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
भारतले आर्थिक वर्ष २०२१–२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर–बासमती चामल निकासी गरेको तथ्यांक छ ।
भारतले २०२१–२२ मा गैरबासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो ।
गत वर्ष २०२०–२१ मा १२४.३७ मिलियन टनको तुलनामा गत बाली वर्षमा धान उत्पादन बढेर १३०.२९ मिलियन टन भएको थियो ।
भारतले गहुँ र चिनी निकासीमा यसअघि नै निकासीमा प्रतिबन्ध लगाएको थियो ।









