वीरगन्ज– भारत सरकारले धान र चामलको निर्यातमा लगाउने भनेको २० प्रतिशत भन्सार शुल्कबाट नेपाली बजार प्रत्यक्ष प्रभावित हुने व्यवसायीले बताएका छन् ।

बारा र पर्सा औद्योगिक करिडोरका धानचामल व्यवसायीले वीरगन्जमा पत्रकार सम्मेलन गरेर भारतको निकासी महसुलले नेपालमा पर्ने प्रभावबारे जानकारी दिएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रीय अध्यक्ष एवं वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए ।

अर्का चामल उद्योगी सुरेश रुंगटाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगीभन्दा प्रत्यक्ष रुपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए । अध्यक्ष गुप्ताले चामल मिल बन्द हुने अवस्थामा पुग्न सक्ने भन्दै यसको समाधानका लागि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

नेपालले भारतबाट वार्षिक ७–८ अर्बको चामल आयात गर्दै आएको छ । गतवर्ष मात्रै भारतबाट नेपालमा साढे ५ लाख मेट्रिकटन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्यांक छ ।

देशभरि करिब दुई हजार पाँच सय चामल उद्योग छन् जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योगले विभिन्न कारणले शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन् । नेपालकामा उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय