काठमाडौं– ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातको लागि तयारी गरिरहेको बताएकी छिन् । चितवनमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशलाई विद्युत् निर्यात गरिने बताइन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।
‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौं । अब बंगलादेशमा पनि निर्यात हुँदैछ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।’
ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क जस्तै रहेको जानकारी दिँदै उनले घरायसी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि तथा सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।
फरक प्रसंगमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुंग्याइने बताइन् । शुक्रबार टुंगिने भनिएको गठबन्धनको सिट बाँडफाँटमा प्राविधिक हिसाबले समस्या भएको उल्लेख गर्दै उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुंगिन्छ ।’









