काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए । त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

महालेखा परीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वको टोलीललाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संगठनको २४औं महाधिवेशमा सहभागिता जनाउन स्वीकृत दिने, बेरुजु फर्छयौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष २०७९–८० का लागि राजपत्राङ्कितस्तरको दरबन्दी स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आगोजना हुने विश्व बंैक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीसहितको टोलीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । आगामी असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना हुने (युरोपियन रिजनल मिटिङमा) सहभागी हुन कानूनमन्त्रीको भ्रमण स्वीकृत गर्ने, नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउन, मधेस प्रदेश चिडियाखाना स्थापना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आव २०७९–८० का लागि अस्थायी दरबन्दी, जिल्ला समन्वय समिति प्युठानको जग्गा गौमुखी गाउँपालिका प्यूठानका नाममा हक हस्तान्तरण र सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय