काठमाडौं– सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् ।

लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम २०२२ उद्घाटनका क्रममा बुधवार देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको एकल बिन्दु सेवा डिजिटल सिस्टमको पनि शुभारम्भ गरेका छन् । उक्त डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकाय आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्ने बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन सत्रमा प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको इस्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल नामको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरे । उक्त प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

फोरम उद्घाटन सत्रलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री देउवाले लगानी बोर्डको कार्यालयले लगानी आकर्षित र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उक्त उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।

लगानी बोर्डको कार्यालयको लगानी प्रवर्द्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड सो, परियोजना सोकेसिङ, लगानी सम्मेलन आयोजना गर्दै आएको छ । फोरममा समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय