काठमाडौं– सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नेपाली सेनाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो ।
२०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा छ । कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । २०३२ मा शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजारबाट कोष स्थापना गरिएको थियो ।
सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको संख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषको रकम विगतमा ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब ५ करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ ।









