बेनी– म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) ३ लाख रुपैयाँको बोलकबोल भएको छ ।

सोमबार भएको कालरात्रिमा खुला बढीबढाऊमार्फत सरकारी राँगो मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन् ।

उनले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन् । यसअघि २०७८ सालको दसैमा तीन लाख रुपैयाँमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षी धेरै हुने भएकाले खुला बोलकबोलमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए ।

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकांक्षा राख्नेको संख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए ।

‘यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो,’ उनले भने । तत्कालीन बाइसे÷चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बढिबढाऊ गरी राँगो मार हान्ने (काट्ने) चलन छ ।

नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय