सुदूरपश्चिम– बडादसैंको उमंग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ–आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दसैं कसरी मनाउने भन्ने चिन्तामा छन् ।
चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौंतारिनु पर्दा खल्लो महसुस भइरहेको स्थानीय प्रेम आचार्यले गुनासो गरे । खुटिया–दीपायल द्रुत मार्गको हाटखोली सडक खण्डमा काम गरेका झण्डै १ सय ५० मजदुरलाई ठेकेदार कम्पनी अनिष्ठा निर्माणले ज्याला नदिएको हो ।
उनले भने, ‘निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौं, तर कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छाडे ।’
मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने २ हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी रहेको अर्का मजदुर रकिल घर्तीमगरले जानकारी दिए । ‘मजदुर खोजेर निर्माणको काममा लगाइदिने मसहित चारजनाको झन्डै १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन,’ उनले भने ।
लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।
मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन् । खुटिया–दीपायल द्रुतमार्ग निर्माणको काम संघीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।









