काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.१६ बिन्दुले ओरालो लागेर १८७१.२२ कायम भएको छ । आइतबार उच्च अंकले भएको वृद्धि सोमबार टिक्न नसक्दा कारोबार रकम एक अर्ब पनि पुगेको छैन ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३६ बिन्दुले ओरालो लागेर ३६६.८४ मा कायम भएको छ । २३३ कम्पनीको ३१ करोड ५५ लाख ६९६ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँमा किनबेच भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने ०.१२ बिन्दुले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी बिन्दुको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार ८०२ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५००, नबिल बैंक ४ करोड ८२ लाख २० हजार २६२, हिमालयन डिस्टिलरी ३ करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक २ करोड ९ लाख ३९ हजार ३८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, अभियान लघुवित्त ९.९९, एनएमबी हाइब्रिड फन्ड ३.६७, ग्लोबल आइएमई ब्लालेन्स फन्ड पहिलो ३.४९, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड ३.२७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले २.६८ प्रतिशतले कमाएका छन् ।
त्यस्तै गरिमा बैंकको ऋणपत्र ८.१३, सिभिल लघुवित्त ६.३३, कृषि विकास बैंकको ऋणपत्र ५.८६, कर्णाली डेभलपमेन्ट बैंक ५.६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाएका छन् ।









