काठमाडौं– वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक २ करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौं जोर जुत्ताचप्पले आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए ।
‘देशको माग धान्न सक्ने गरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन्,’ उनले भने ।

एसोसिएसनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा नेपालमा ५ करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट २ करोड ५९ लाख ८७ हजार १ सय ६३ जोर आयात भएको थियो । यस्तै २ करोड २५ लाख १२ हजार ८ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ ।

एकतिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा १ हजार ५ सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ । आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट १ अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।

एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले ३० अर्ब व्यवसायीको लगानी र ४ अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भन्सार नाकामा गस्ती बढाउनुका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने माग गरे ।

स्वदेशी उत्पादनको प्रवर्द्ध गर्न सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एसोसिएसनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय