काठमाडौं– गत भदौमा महँगी अचाक्ली बढेको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
उसका अनुसार भदौमा वार्षिक बिन्दुगत महँगी (मुद्रास्फीति) ८.६४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा महँगी ३.४९ प्रतिशतले बढेको थियो । भदौमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ९.०२ प्रतिशतले बढेको छ ।
पोहोर भदौको तुलनामा यसपालि खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत छ ।
भदौमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको महँगी क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशतले बढेको छ ।
गत भदौमा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले महँगी बढेको छ । यी क्षेत्रहरुमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशतले महँगी बढेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको ताजा आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।









