काठमाडौं– आफ्नो लजमा बस्न आएका ग्राहकको गोप्य भिडियो खिच्ने काममा संलग्न एक म्यानेजर पक्राउ परेका छन् । लजमा बस्न आएका युवती र जोडीको अन्तरंग भिडियो खिचेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाँसबारीस्थित बाँसबारी रेस्ट्रो क्याफे एन्ड लजका म्यानेजर मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का मालीले लजको कोठा र बाथरुममा सानो प्वाल बनाएर मोबाइल र अन्य डिभाइसबाट बसेका पाहुनाको भिडियो खिच्ने गरेको पाइएको प्रहरीको भनाइ छ । ग्राहकहरु लजको कोठा वा नुहाउन बाथरुम छिरेपछि माली आफंैले मोबाइल वा क्यामेराबाट भिडियो रेकर्ड गर्थे ।

कात्तिक २ गते बुधबार परिवारसँग खानपिन र बास बस्न लज पुगेकी युवतीले नुहाउन बाथरुम छिरेपछि त्यहाँ प्वाल र कसैले शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीलाई जानकारी दिएकी थिइन् । सोही आधारमा प्रहरी वृत्त महाराजगन्जको टोली लजमा पुगेर अनुसन्धान गर्दा उक्त काममा म्यानेजर माली संलग्न रहेको फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

मालीको मोबाइल नियन्त्रणमा लिई अनुसन्धान गर्दा दर्जनौं अन्तरंग भिडियो फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मालीको मोबाइलमा नाम, थर र वतन नखुलेका दर्जनौं व्यक्ति र जोडीको अन्तरंग भिडियो भेटिएको छ ।

उनले ग्राहकको गोप्य भिडियो खिच्नुको उद्देश्य भने खुलेको छैन । प्रहरीले उनको उद्देश्यबारे अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय