काठमाडौं– अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एन्ड आइयिा फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्न आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो ।
फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक प्रदिप पौडेल, नेपाल टेलिकमका अग्नि घिमिरे, यार्सा ल्याब्सका एनजे सुवेदी र शुशिल भण्डारी, नजेल एक्सपर्ट हेमपाल श्रेष्ठ, इन्फोडेभलपर्सका रेशम भन्डारी, स्मार्ट क्युआरका सुवोध गौतम, स्टिम क्याम्पका संयोजक सुशील भट्टराई लगायतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री साहले नयाँ नयाँ इन्नोभेसन र आइडियाले देशलाई जोड्ने बताए । नेपालको व्यापार घाटाको सन्दर्भलाई जोड्दै उनले डिजिटल अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे । डिजिटल अर्थतन्त्र निर्यातमुखी बनाए त्यसले नेपालको व्यापार घाटा कम गर्ने उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा नलेज एक्सपर्ट श्रेष्ठले स्टार्टअप एन्ड आइयिा फेस्टलाई सफलतापूर्वक समापन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सातै प्रदेशमा गएर युवाहरूका इन्नोभेटिभ आईडिया छनोट गरेर काठमाडौं ल्याएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत सेयर गरेका थिए । मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि यो फेस्ट एउटा राम्रो कदम भएको बताइन् ।
त्यस्तै गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ जेनेसको प्रि–इभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको यो फेस्ट १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा यार्सा ल्याब्सका प्रबन्ध निर्देशक सुशील भट्टराईले फेस्टमा भएका आइडिया र स्टार्टअपले नेपालको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी समापनमा बोल्दै प्राधिकरणका डेपुटी निर्देशक पौडेलले सरकारले गर्न नसकेको काम लिभिङ विथ आइसिटीले गरेको बताए । उनले सेवा पुगेर त्यसको समुचित प्रयोग भएमा मात्रै देशमा आइसिटीको विकास हुने बताए ।
दुई दिन चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छानिएका स्टार्टअप र आइडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० भन्दा बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।
कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ । द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कसप पनि आयोजना भएको थियो ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एन्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भिआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमलाई समापन गर्दै समापन सत्रका अध्यक्ष लम्सालले स्टार्टअपको विकास र विस्तारमा सहयोग गर्न फेस्ट आयोजना गरेको बताउँदै सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए । नेपालको डिजिटल इकोसिस्ट विकास गर्न आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल बिजनेस स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युजमेसिन्स लगायतको सहयोग रहेको छ ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, एनआइटिसी, नास्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।









