बागलुङ– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ ।
आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा १ हजार ८ सय ५७ कर्मचारी र ९ सय ३० स्वयंसेवक खटिने भएका छन् ।
संघतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल एक लाख ९२ हजार २ सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं क्षेत्रमा ९५ हजार ५ सय ६१ मतदाता छन् ।









